रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर सोमबार दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्। आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।