बर्दियामा मिनिबस र भारतीय मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दियामा मिनिबस र भारतीय मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनिबस र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

२०८३ कात्तिक २८ गते दिउँसो करिब १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट CHO1CM9437 को मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको हो। ठक्करपछि मिनिबस पल्टिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५ देखि ६० वर्षका पुरुषको मृत्यु भएको छ। दुवैलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्‍याइएकोमा चिकित्सकले क्रमशः दिउँसो २ः१३ र २ः०९ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा मिनिबस चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। चार जना सामान्य घाइते उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार भइरहेको छ।

घाइते हुनेमा बर्दिया, बाँके र दाङका महिला, पुरुष तथा बालबालिका रहेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply