काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग हार बेहोरेपछि सुदूरपश्चिमले फाइनल पुग्न अर्को अवसर पाएको हो। यता चितवन राइनोजले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
समूह चरणमा भएको भेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको थियो। त्यही नतिजालाई निरन्तरता दिने लक्ष्य सुदूरपश्चिमको हुनेछ भने चितवन समूह चरणको हारको बदला लिँदै फाइनल यात्रा तय गर्ने योजनामा मैदान उत्रिनेछ।