मलेसिया रकम पठाउने निर्णय प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसिया रकम पठाउने निर्णय प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग सम्बन्धित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका हुन्। उनीहरूसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार उक्त प्रकरणमा ८ करोड ३७ लाख ४ हजार ३३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९८० पाउण्ड ८० पेन्स गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम मलेसिया पठाउने निर्णय भएको उल्लेख छ।

उक्त कार्यबाट देशको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने र संगठित समूहलाई लाभ हुने गरी श्रमिकमाथि ठगी भएको प्रहरीको आरोप छ।

काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि प्रहरीले सोही दिन काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply