बराह सहकारी ठगी प्रकरणमा संस्थापकसहित दुई जना पक्राउ

बराह सहकारी ठगी प्रकरणमा संस्थापकसहित दुई जना पक्राउ

काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको आरोपमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र अस्मिता भण्डारी रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीले उनीहरूलाई २०८३ मंसिर २ गते सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बराह सहकारी ठगी प्रकरणमा १७ हजार १० जना पीडित रहेका छन्। शंकर थापासहित ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ।

सुनसरीको धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले नेपालभर ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ। सोही प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने शिवकुमार विश्वकर्मा सहकारीका संस्थापक हुन्। ४५ वर्षीय उनी सुनसरीको धरान उपमहानगरपालिका–१२ मा जन्मिएका र हाल काठमाडौं महानगरपालिका–२२ मा बसोबास गर्दै आएका थिए। त्यस्तै, ३३ वर्षीया अस्मिता भण्डारी सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको १ नम्बर प्रदेश सचिवालयकी सदस्य रहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply