मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि छुटेको ना.१ ज २१४३ नम्बरको सुमो भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो। बिहान करिब ८:३५ बजे घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा सुमो सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सुमोमा सवार चालकसहित १० जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ९:२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा बाँकी सात जना घाइते भएका छन्। उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।