झापा । झापाको बाह्रदशीमा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना मंसिर २ गते राति करिब १०:४० बजे बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा भएको हो।
राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।