काठमाडौं । आज हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा, आराधना, व्रत तथा भजनकीर्तन गरेर श्रद्धापूर्वक यो पर्व मनाउँदै छन्।
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज कार्तिक शुक्ल एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ। त्यसैले यस दिनलाई हरिबोधिनी एकादशी अर्थात् भगवान् हरिको जागरणसँग जोडेर मनाउने गरिन्छ।
हरिबोधिनी एकादशीलाई तुलसी विवाहको दिनका रूपमा समेत लिइन्छ। आज तुलसीको मठलाई दुलहीका रूपमा सजाएर भगवान् विष्णुको प्रतीक शालिग्रामसँग विवाह गराउने परम्परा रहेको छ। तुलसी विवाह गरेमा पुण्य प्राप्त हुने र घरपरिवारमा सुख, शान्ति तथा समृद्धि आउने धार्मिक मान्यता छ।
यस अवसरमा देशभरका नारायण तथा विष्णु मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। काठमाडौंको बूढानीलकण्ठ, चाँगुनारायण, शेषनारायणलगायतका धार्मिक स्थलहरूमा विशेष पूजा तथा दर्शनका लागि श्रद्धालु पुग्ने गर्छन्। कतिपय भक्तजन एकादशी व्रत बसेर दिनभर भगवान् नारायणको स्मरण, भजन तथा कीर्तनमा सहभागी हुने गर्छन्।
हरिबोधिनी एकादशीसँगै चार महिनादेखिको चतुर्मास व्रत पनि समाप्त हुने धार्मिक मान्यता रहेको छ। यस दिनलाई धार्मिक आस्था, भक्ति र आत्मशुद्धिको विशेष अवसरका रूपमा लिइन्छ।
नारायण, हरि हरि!