काठमाडौं । तराई–मधेससहित देशका विभिन्न क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना (रसियाव) मनाइँदैछ।
छठ पर्वको दोस्रो दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पवित्र तरिकाले तयार पारिएको खिर, पुवा रोटी तथा अन्य प्रसाद ग्रहण गरी खरना विधि सम्पन्न गर्ने परम्परा रहेको छ।
खरनाका दिन व्रतालुहरूले घर तथा पूजास्थल सफा गरी शुद्धताका साथ प्रसाद तयार पार्छन्। साँझ भगवान् सूर्यको पूजा आराधना गरेपछि प्रसाद ग्रहण गरिन्छ। यसरी खरना सम्पन्न गरेपछि व्रतालुहरू निर्जला उपवासमा बस्ने गर्छन्।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुने परम्परा छ।
प्रकृति, सूर्य र जलप्रति श्रद्धा प्रकट गरिने छठ पर्वमा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै सूर्यदेव र छठी माताको पूजा गर्ने गरिन्छ।