काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। छठ पर्व मनाउने समुदायलाई लक्षित गर्दै सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्व विशेषगरी तराई–मधेश क्षेत्रमा धुमधामका साथ मनाइन्छ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि छठ पर्व मनाउने चलन बढ्दै गएको छ।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वमा व्रतालुहरूले नदी, तलाउ तथा जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देशसमेत दिने विश्वास गरिन्छ।
सरकारको सार्वजनिक बिदा दिने निर्णयसँगै छठ पर्व मनाउने तयारीमा रहेका सर्वसाधारणलाई पर्व मनाउन सहज हुने अपेक्षा गरिएको छ।