मनसुनजन्य विपद्मा बेपत्ता भएकाका परिवारलाई मृतकसरह राहत दिन गृह मन्त्रालयको निर्देशन

मनसुनजन्य विपद्मा बेपत्ता भएकाका परिवारलाई मृतकसरह राहत दिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । मनसुनजन्य विपद्का कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै सम्बन्धित निकायबाट बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सिफारिस भइसकेका परिवारलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था शीघ्र कार्यान्वयन गर्न भनेको हो।

‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सिफारिस भएका व्यक्तिका हकदारले मृतकसरह राहत पाउने व्यवस्था छ। मन्त्रालयले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ।

नेपाल सरकारले असोज २३ गते जारी गरेको ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ ले बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार हालसम्म ४९ वटा जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाइसकेका छन्।

यसअघि मन्त्रिपरिषद्का २०८१ असार ३१ र फागुन १२ गतेका बैठकले २०८० वैशाख १ गतेयता मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरेको थियो। कम्तीमा १० दिनसम्म खोजी गर्दा पनि व्यक्ति फेला नपरेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको थियो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply