चलचित्र जाँचमा सेन्सर र उमेर वर्गीकरणलाई जोड्ने ‘हाइब्रिड मोडेल’बारे छलफल हुने

चलचित्र जाँचमा सेन्सर र उमेर वर्गीकरणलाई जोड्ने ‘हाइब्रिड मोडेल’बारे छलफल हुने

काठमाडौं । चलचित्र प्रदर्शनअघि गरिने जाँच प्रक्रियालाई थप व्यवस्थित बनाउन सरकारले सेन्सर प्रणाली र उमेरअनुसारको वर्गीकरणलाई समेट्ने मिश्रित व्यवस्था अपनाउने विषयमा छलफल गर्न सकिने जनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा यस्तो धारणा राखेका हुन्। चलचित्र विधेयक, २०८१ माथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँगको छलफलका क्रममा उनले चलचित्रको जाँच र वर्गीकरण दुवै पक्षलाई महत्व दिनुपर्ने बताए।

हाल विधेयकमा चलचित्र प्रदर्शन गर्नुअघि जाँच गर्ने सेन्सर बोर्डको व्यवस्था प्रस्ताव गरिएको छ। तर मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर हाइब्रिड मोडेलबारे विचार गर्न सकिने बताए। उनका अनुसार भारतमा मिश्रित प्रकृतिको अभ्यास रहेको छ भने अस्ट्रेलिया र बेलायतलगायतका देशमा उमेर समूहका आधारमा चलचित्र वर्गीकरण गर्ने व्यवस्था छ।

बैठकमा मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डको नेतृत्व र संरचनाबारे पनि प्रश्न उठाए। बोर्डको अध्यक्षलाई सम्मानित पदका रूपमा लिने कि दक्ष व्यवस्थापकका रूपमा जिम्मेवारी दिने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो। अधिकार र क्षमता पर्याप्त नहुँदा संस्था कमजोर देखिने भएकाले बोर्डको उद्देश्यअनुसार नेतृत्व र संरचना निर्धारण गर्नुपर्ने उनले बताए।

उनले चलचित्र क्षेत्रको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जवाफदेहिता र जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राखे।

चलचित्र विधेयक, २०८१ माथि हालसम्म १२२ वटा संशोधनका सूचना दर्ता भएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply