काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने भ्रामक तथा हानिकारक सामग्री नियन्त्रण गर्न अष्ट्रेलिया सरकारले नयाँ कानुनी व्यवस्था अघि सारेको छ। ‘डिजिटल ड्युटी अफ केयर’ नाम दिइएको यो कानुनले सामाजिक सञ्जाल कम्पनीसँगै एआई, एआई च्याटबट र गेमिङ कम्पनीलाई पनि आफ्ना प्लेटफर्म सुरक्षित बनाउन जिम्मेवार बनाउनेछ।
नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले प्रयोगकर्ताबाट उजुरी आएपछि मात्र सामग्री हटाउने नभई सम्भावित जोखिम पहिचान गरेर पहिल्यै नियन्त्रणका उपाय अपनाउनुपर्नेछ। महिलाविरुद्ध घृणा फैलाउने सामग्री, हिंसा, जोखिमपूर्ण गतिविधि, नक्कली भिडियो तथा बालबालिकालाई हानि पुर्याउन सक्ने सामग्री रोक्न कम्पनीहरूले सक्रिय व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ।
कानुनले डिजिटल प्लेटफर्मको संरचना र सामग्री सिफारिस गर्ने प्रणालीबाट सिर्जना हुन सक्ने जोखिमलाई समेत सम्बोधन गरेको छ। प्रयोगकर्ताले प्लेटफर्मले स्वचालित रूपमा सिफारिस गरेका सामग्री तथा भिडियो हेर्ने वा नहेर्ने विकल्प रोज्न पाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी कारोबारबाट प्राप्त आम्दानीको पाँच प्रतिशत वा १० करोड ९२ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना गर्न सकिनेछ। यीमध्ये जुन रकम बढी हुन्छ, त्यही रकम जरिवानाका रूपमा असुल गरिने व्यवस्था छ। भने साना तथा कम जोखिम भएका व्यवसायलाई भने केही छुट दिन सकिने जनाइएको छ। यो कानुन आगामी वर्ष नोभेम्बरदेखि लागू हुन सक्ने बताइएको छ।
अष्ट्रेलियाकी सञ्चारमन्त्री अनिका वेल्सले इन्टरनेट प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्नु कानुनको मुख्य उद्देश्य रहेको बताएकी छन्। उनले यसलाई सवारीसाधनमा सिट बेल्ट अनिवार्य गर्ने तथा चुरोटको प्याकेटमा सादा आवरण लागू गर्ने जस्तै सार्वजनिक सुरक्षासँग सम्बन्धित व्यवस्थाका रूपमा व्याख्या गरेकी छन्।
यसअघि सन् २०२५ मा अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने व्यवस्था लागू गरेको थियो। त्यससँगै बालबालिकाको अनलाइन सुरक्षाका विषयमा विश्वव्यापी बहस चर्किएको थियो। युरोपेली संघ र बेलायतमा पनि सामाजिक सञ्जाल कम्पनीलाई हानिकारक तथा गैरकानुनी सामग्री नियन्त्रण गर्नुपर्ने कानुनी व्यवस्था छ।