काठमाडौं । विद्युतीय हवाई यातायातको क्षेत्रमा चीनले नयाँ उपलब्धि हासिल गरेको छ। चीनमा निर्माण गरिएको १९ यात्रु क्षमताको विद्युतीय विमानले पहिलोपटक चालक दलसहित परीक्षण उडान पूरा गरेको छ।
सीई–२५ए नाम दिइएको उक्त विमानले शनिबार पूर्वी चीनको शान्दोङ प्रान्तको बिन्झाउबाट उडान गरेको हो। परीक्षणका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानभित्र रहेका थिए। उडान सफल रहेको र विमानका प्राविधिक सूचकहरू निर्धारित मापदण्डअनुसार देखिएको निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले जनाएको छ।
सहरहरूबीचको छोटो दूरीको यात्राका लागि तयार पारिएको यो विमान एकपटकमा १९ यात्रु बोकेर ४०० किलोमिटरसम्म उड्न सक्छ। यसको अधिकतम गति प्रतिघण्टा ३०० किलोमिटर र उडान क्षमता २ हजार ४०० मिटर उचाइसम्म रहेको छ। विमानको अधिकतम उडान भार १० टन छ।
सीई–२५एको विकासमा कोम्याकसँगै चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएल र साङ्घाई जियाओ तोङ विश्वविद्यालयलगायत संस्थाको सहभागिता रहेको छ। यसअघि गत फेब्रुअरी २ मा यस विमानको स्वचालित उडान परीक्षण गरिएको थियो। त्यसयता चालकविहीन प्रणालीबाट १९ पटक परीक्षण उडान सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
विमानलाई व्यावसायिक सेवामा ल्याउने तयारीअन्तर्गत चीनको नागरिक उड्डयन प्रशासनले यसको प्रकार प्रमाणीकरणका लागि कोम्याकले पेस गरेको आवेदन पनि स्वीकार गरेको छ। आवश्यक प्रमाणीकरण प्रक्रिया पूरा भएपछि मात्रै विमानले व्यावसायिक उडान सञ्चालन गर्ने अनुमति पाउनेछ।