काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन भइरहेका तथा राखिएका पसल र संरचना हटाउन २४ घण्टे समयसीमा दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कोषले सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल तथा संरचना हटाई लैजान सम्बन्धित सबैलाई निर्देशन दिएको छ। पवित्र धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको गुरुयोजना क्षेत्रको मर्यादा र व्यवस्थापन कायम राख्न निषेधित स्थानमा रहेका पसल हटाउन लागिएको कोषले स्पष्ट पारेको छ।
तोकिएको समयसीमाभित्र पसल तथा संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने कोषले चेतावनी दिएको छ।