सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–२ स्थित १० किलोमा प्रहरीले चेकजाँचका क्रममा दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जनाले बोकेको झोलाबाट ६६ हजार ९५० युआन बरामद भएको प्रहरीले जनाएको छ।
२०८३ मंसिर १० गते दिउँसो करिब ३:४५ बजे इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त टोलीले कोदारीबाट काठमाडौं जाँदै गरेको BAC 5293 नम्बरको स्कारपियो जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजी (CIRENOU OJI) ले बोकेको कालो झोलाभित्र लुकाइएको अवस्थामा चिनियाँ मुद्रा फेला परेको हो। बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका ५ थान नोट रहेका छन्। उक्त रकम नेपाली रुपैयाँमा १६ लाख ६ हजार ८०० बराबर रहेको जनाइएको छ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले सिरेनु ओजी र ४३ वर्षीय अर्का चिनियाँ नागरिक वुजियान्दुओजी (WUJIANDUOJI) लाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा राखेर थप अनुसन्धान भइरहेको छ।
स्कारपियोका चालक भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ।