प्रेम सम्बन्धको विवादमा युवकको हत्या प्रकरण : फरार मुख्य अभियुक्त भारत सीमा नजिकबाट पक्राउ

प्रेम सम्बन्धको विवादमा युवकको हत्या प्रकरण : फरार मुख्य अभियुक्त भारत सीमा नजिकबाट पक्राउ

महोत्तरी । प्रेम सम्बन्धका कारण योजनाबद्ध रूपमा युवकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्याङ्कीमा लुकाएको घटनामा फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका–७ बनौटा निवासी ३४ वर्षीय जितेन्द्र कुमार ठाकुर रहेका छन्। उनलाई मंसिर ९ गते साँझ करिब ५ बजे जलेश्वर नगरपालिका–३ मलिवारास्थित नेपाल–भारत सीमा क्षेत्रमा हिँडिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

भंगाहा नगरपालिका–६ निवासी २२ वर्षीय विवेक कुमार सरदार २०८३ भदौ १५ गते जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घर फर्किने क्रममा बेपत्ता भएका थिए। उनी घर नपुगेपछि परिवारले भोलिपल्ट प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।

प्रहरीले हुलिया परिपत्र जारी गर्नुका साथै सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणमार्फत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा विवेक बलवा नगरपालिका–७ स्थित बनौटा गाउँबाटै हराएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानअनुसार विवेक र जितेन्द्रकी २२ वर्षीया श्रीमती सोनु कुमारी ठाकुरबीच प्रेम सम्बन्ध रहेको विषयलाई लिएर परिवारका सदस्यहरूले योजना बनाएको पाइएको छ। सोही योजनाअनुसार विवेकलाई घरमा बोलाएर बाहिर निस्कन नदिई हत्या गरिएको र शवलाई फलामको धारिलो हतियार प्रयोग गरी नौ टुक्रा पारिएको प्रहरीको भनाइ छ।

शवका टुक्राहरू घर पछाडिको शौचालयको सेफ्टी ट्याङ्कीभित्र लुकाइएको अवस्थामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply