एकै दिन चार जिल्लामा सवारी दुर्घटना, तीन पुरुष र एक महिलाको मृत्यु

एकै दिन चार जिल्लामा सवारी दुर्घटना, तीन पुरुष र एक महिलाको मृत्यु

काठमाडौं । देशका चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मंसिर १० गते सर्लाही, बारा, मकवानपुर र बर्दियामा भएका दुर्घटनामा एक महिलासहित चार जनाले ज्यान गुमाएका हुन्।

सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा साँझ करिब ७:४५ बजे प्र.२–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल पुलबाट नहरमा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजार निवासी २३ वर्षीय रुकेश राउत घाइते भएका थिए। उपचारका लागि भेनस अस्पताल बरहथवा पुर्‍याइएका उनलाई चिकित्सकले राति ७:५५ बजे मृत घोषणा गरेका थिए।

त्यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलभन्दा माथि हेटौँडा–पथलैया सडकखण्डमा भारतीय कन्टेनर पल्टिँदा चालकको मृत्यु भएको छ। मंसिर १० गते राति भएको दुर्घटनामा NL 01 L 9600 नम्बरको कन्टेनरका चालक भारतको कोलकाता निवासी करिब ६० वर्षीय हरियर सिंह घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा राति १०:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा साँझ ५:३५ बजे मोटरसाइकल दुर्घटना हुँदा ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको छ। बा.प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल दुर्घटनापछि ना ८ ख ११६१ नम्बरको ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलको पछाडि सवार पाठकलाई किचेको थियो। गम्भीर घाइते उनलाई हेटौँडा अस्पताल पुर्‍याइएकोमा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, बर्दियाको गेरुवा गाउँपालिका–१ जनकनगरमा साँझ करिब ६ बजे से ३ प ४१७० नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार चार जना घाइते भएकामध्ये गेरुवा गाउँपालिका–४ खाल्टीबजार निवासी करिब ३० वर्षीय हरि परियारलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply