काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो जग्गा अतिक्रमण गरी बसेकाहरूलाई सात दिनभित्र खाली गर्न अन्तिम समयसीमा दिएको छ। निर्धारित समयभित्र जग्गा खाली नगरे बल प्रयोग गरेर भए पनि हटाउने तयारी विश्वविद्यालयले गरेको छ।
त्रिविका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीका अनुसार अतिक्रमित जग्गा खाली गर्न सात दिनको समय दिइएको हो। उक्त समयसीमा आगामी सोमबार सकिँदैछ। विश्वविद्यालयले यसअघि पनि जग्गा खाली गर्न ३५ दिनको समय दिएको थियो। तर सो अवधिमा अतिक्रमित जग्गा खाली नभएपछि पुनः सात दिनको समय दिइएको हो।
जग्गा खोजबिन समितिले समेत अतिक्रमणमा परेको विश्वविद्यालयको जग्गा फिर्ता ल्याउन सिफारिस गरेको थियो। समितिको सुझाव र यसअघिका सूचनाका बाबजुद जग्गा खाली नभएपछि त्रिविले अन्तिम पटक समयसीमा तोकेको हो।
यसपटक पनि तोकिएको अवधिमा जग्गा खाली नगरिए आवश्यक बल प्रयोग गरेर अतिक्रमण हटाउने तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ।