२१औँ शताब्दीमा पनि हामी जात, थर र सामाजिक वर्गीकरणको बहसमा अल्झिरहेका छौँ । नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने सरकारी निर्णयले आज गम्भीर प्रश्न जन्माएको छ । दलित समुदायमाथि सदियौँदेखि हुँदै आएको जातीय विभेद र अन्याय अन्त्य गर्नु राज्यको दायित्व हो । तर सामाजिक न्यायका नाममा कुनै समुदायको ऐतिहासिक पहिचान, सांस्कृतिक अस्तित्व र आत्मसम्मानलाई बेवास्ता गर्न मिल्छ?
कुनै समुदायको पहिचान निर्धारण गर्ने अधिकार राज्यको कागजमा मात्रै सीमित हुन सक्छ? सम्बन्धित समुदायसँग पर्याप्त छलफल, ऐतिहासिक अध्ययन र सहमति नगरी गरिएको वर्गीकरणले सामाजिक न्याय स्थापित गर्छ कि समाजमा थप असमझदारी र विभाजन निम्त्याउँछ?
नेवार समुदायको भाषा, संस्कृति, परम्परा, गुठी र सामाजिक संरचना हजारौँ वर्षको सभ्यताबाट निर्माण भएको हो । त्यसलाई प्रशासनिक सूचीमा सीमित गरेर बुझ्नु राज्यको गम्भीर कमजोरी हो । राज्यको काम समाजलाई विभाजित गर्ने होइन, विभेद अन्त्य गर्दै समाजलाई एकताबद्ध बनाउने हो ।
जातीय छुवाछुत र विभेदको अन्त्य हुनुपर्छ, तर त्यसका नाममा समुदायको पहिचानमाथि चोट पुग्नु हुँदैन । सामाजिक न्याय र सांस्कृतिक पहिचान एकअर्काका विरोधी होइनन् ।
सरकारले यो निर्णय पुनर्विचार गरोस्। सम्बन्धित समुदायको आवाज सुनोस् । न्यायको नाममा अन्यायको अनुभूति पैदा नगरोस् ।
विभेद अन्त्य गरौँ, पहिचानको सम्मान गरौँ । समाज जोडौँ, विभाजन होइन। -(लेखक राष्टिय उद्योग व्यापार महासंघका अध्यक्ष हुन् ।)-शिव कट्टेल