Home » Sample Page » घाइतेको उपचार केएमसीमा, विमानमा ३३ नेपाली–३४ विदेशी
समाचार

घाइतेको उपचार केएमसीमा, विमानमा ३३ नेपाली–३४ विदेशी

काठमाडौँ, २८ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पु¥याइएको छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन( चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।
यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।
नर्भिकमा पाँचको उपचार, दुई गम्भीर : सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।
विमानमा ३३ नेपाली–३४ विदेशी : दुर्घटनामा परेको विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।