समाचार

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बन्द

तुलसीपुर, दाङ, ४ माघ ।  प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज पनि दाङ जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् । त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले दाङ माथि ठूलो अन्याय गरेकाले र आफूहरुले सरकारले तत्काल निर्णय नसच्याए अनिश्चितकालीन आमहडताल जारी राख्ने समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो । आन्दोलनमा सर्वसाधारणबाहेक कुनै पनि राजनीतिक दलका नेता सडकमा देखिएका छैन । यसअघि हिजो नेपाली काँग्रेस र नेविसंघका युवा दाङमा राजधानी माग गदै सडकमा देखिएका थिए ।
दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले विज्ञप्ति निकालेर दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाउनुभएको थियो । एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभामा निर्वाचित हुनुभएका शंकर पोख्रेलले सरकारको निर्णयलाई विवेकहीन भन्नुभएको छ । यसअघि बुधबार अबेरसम्म घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै थप आन्दोलन चर्काउने जनाएको थियो । यसैबीच आज घोराहीमा सर्वपक्षीय बैठक बसिरहेको छ । सो बैठकको निर्णय भने आउन बाँकी नै छ ।