समाचार

डा केसीको माग बारेको संवाद सकारात्मक दिशातर्फ

काठमाडौँ । अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद शुरु भएको छ । सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गर्नुभएको हो ।

उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग आज विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गर्नुभएको थियो । नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको नेता नेम्वाङले राससलाई जानकारी दिनुभयो ।

“डा केसीका मागलाई कसरी टुंगोमा पु¥याउने भन्नेबारे सम्बन्धित पक्षसँग विभिन्न चरणमा छलफल भएको छ, सरकारी वार्ता टोलीले यो विषयलाई लचकताका साथ टुंगोमा पु¥याउँछ, हामी बाहिर जो जहाँ छौँ सबैले सहयोग गरौँ भन्ने आग्रह गरियो”–उहाँले भन्नुभयो ।

नेता नेम्वाङले संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाउनुभएको थियो ।

सरकारको उक्त धारणाप्रति डा केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो । “हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको डा केसी पक्ष आजको छलफलमा विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत हुनु सकारात्मक प्रगति हो,”–नेता नेङवाङले भन्नुभयो ।

उहाँले डा केसी पक्षसँग भएको छलफललगत्तै सरकारी वार्ता टोलीलाई संसदीय दलको कार्यालयमै बोलाएर छलफलमा उठेका विषय र योजनाबारे जानकारी गराएको र सोही आधारमा सरकार र केसी पक्षबीच वार्ताले सार्थकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

यसअघि दिउँसो नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डा केसी पक्षसँग भएको छलफल र अनसन कसरी सुल्झाउन सकिन्न भनेर ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

यसैबीच प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले दिउँसो डा केसीका माग सम्बोधनबारे माथेमा र डा बाँस्कोटालाई बालुवाटारमै बोलाएर चिकित्सा शिक्षाको सुधारबारे छलफल गर्नुभएको थियो । चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी २५ दिनदेखि अनशनमा हुनुहुनछ ।