काठमाडौँ :आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा तल्लो तहको कामका रुपमा लिएको श्रमिकको गुनासो छ ।
छोराछोरी पाल्न अरु कुनै काम नपाएपछि सीता खत्रीले दुई दशक पहिले एउटा घरको घरायसी काम गर्न थाल्नुभएको थियो । श्रीमान्ले अर्काे विवाह गरेपछि उहाँको काँधमा सन्तानको पालनपोषण र पढाउनुपर्ने जिम्मेवारी आइलाग्यो । के काम गर्ने कामको खोजीमा धेरै भौतारिनुभयो तर केही काम पाउनुभएन । “काठमाडौँमा पढेका मान्छेले त काम पाउँदैनन्, हामी नपढेकाले के काम पाउनु छ र ?”, उहाँले भन्नुभयो, “जुन घरमा बस्थेँ त्यहीँ घरका घरबेटीको घरमा खाना पकाएपछि भाडा तिर्न परेन र त्यहीबाट काम शुरु गरेँ ।”
त्यतिबेला र अहिले घरेलु श्रमिकको अवस्थामा धेरै परिवर्तन आएको छ । पहिले धेरै काम गर्दा थोरै पारिश्रमिक थियो । अहिले खटिएर काम गर्न सक्नेले राम्रो कमाउने अवसर छ । काम शुरु गरेको लामो समयसम्म उहाँले रु १० हजारसम्म कमाउनै मुस्किल थियो । अहिले भने उहाँ मासिक रु २०÷२५ हजारसम्म कमाउनुहुन्छ । उहाँले भन्नुभयो, “बिहान घरमै बस्छु, बिहानदेखि काम गरे अझै धेरै कमाइन्छ ।”
काठमाडौँ उपत्यकामा कामकाजी महिलाको सङ्ख्या बढ्दै जाँदा घरेलु श्रमिकको आवश्यकता बढ्दो छ । अरु कामको अवसर नपाउँदा धेरैले अन्तिम उपायका रुपमा घरेलु श्रमलाई लिएका थिए । केही वर्षयता भने पारिश्रमिक बढ्दै जाँदा यो पेशा आकर्षक बन्दै छ ।
अशिक्षित मात्रै होइन ११, १२ र स्नातक अध्ययनरतले पढाइसँगै घरेलु श्रमिकका रुपमा काम गरिरहेका छन् । यो काम गरेरै मासिक रु ३० हजारसम्म कमाउने पनि छन् । घरेलु श्रमिक एक दशक पहिलेसम्म यो काममा पारिश्रमिक कम भएको गुनासो गर्थे । समयको परिवर्तनसँगै अहिले भने पारिश्रमिकभन्दा पनि उनीहरुको जोड कामप्रतिको सम्मानमा छ । यो कामलाई समाजले सानो काम मानेको उनीहरुको गुनासो छ । विदेशमा घरेलु श्रम नै गर्दा राम्रो मानिए पनि समाज र परिवारले स्वदेशमा घरेलु श्रमिकका रुपमा काम गर्दा भने अझै सम्मानजनक पेशाका रुपमा स्वीकार्न सकेको पाइदैन ।
बसुन्धारा क्षेत्रका घरमा काम गर्दै आउनुभएकी मनिषा पुरीेले एक दशकदेखि यही कामले परिवार चलाउनुभएको छ । छोरालाई राम्रो विद्यालय, कलेज र अहिले वैदेशिक अध्ययनमा समेत पठाउनुभएको छ । आफन्त र गाउँका कतिपय महिलाको सिको गरेर उहाँ पनि कतार जानका लागि एक दशक पहिले काठमाडौँ आउनुभएको थियो । यहाँ आएपछि तयारीमा लागिरहँदा सञ्चार माध्यममा खाडी देशमा नेपालीले दुःख पाएको समाचार सुन्नुभयो । उहाँले भन्नुभयो, “त्यसैले यहीँ एउटा घरमा काम थालेँ, अहिले तीन वटा घरमा काम गर्छु ।”
विदेश जाने तयारी गरिरहेका वा वैदेशिक रोजगारीबाट फर्किएकालाई मनिषा स्वदेशमै काम गर्न सल्लाह दिनुहुन्छ । विदेशमा जसरी १८ घण्टा खटिँदा यहाँ पनि राम्रो कमाउन सकिन्छ । विदेशमा घरेलु श्रममा जाने महिला पनि आफ्नो देशमा घरेलु श्रमिकका रुपमा काम गर्न नचाहने बताउनुभयो । तीनलाई विदेशीका लागि खाना पकाउने र विदेशीका बुबाआमा र सन्तान हेर्नुभन्दा नेपालीकै लागि काम गर्न भन्नुहुन्छ ।
स्वदेशमा नै काम गर्दा विदेशमा जस्तो परिवार छाड्न नपर्ने हुँदा यो काम राम्रो भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “खटिएर काम गर्दा पारिश्रमिक पनि नराम्रो छैन र घर परिवार छाड्नु पनि पर्दैन ।”
काठमाडौँ उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौँ आएका कतिपय विद्यार्थी बिहान पढ्ने, दिउँसो र साँझ काम गर्ने गर्छन् । उनीहरुलाई औपचारिक क्षेत्रमा काम पाउँदा पनि कार्यालयमा धेरै समय दिनुपर्ने भन्दै यो काम छाड्न चाहँदैनन् । धेरैले ‘सानो काम’ का रुपमा लिँदा युवापुस्ता खुलेर र गर्वका साथ ‘म यो काम गर्छु’ भन्ने गर्दैनन् । -रासस
Add Comment