Uncategorized

नयाँशक्ति पार्टी नेपालले थाल्यो रेकी अभियान

काठमाडौं । नयाँशक्ति नेपालले पार्टीका संयोजक डा. बाबुराम भट्टराई, संगठन विभाग प्रमुख गंगानारायण श्रेष्ठ, राजनीतिक सम्बाद समितिका प्रमुख नवराज सुवेदी र प्रबक्ता प्रशान्त सिँह सहितको टोलीले मध्यपहाडी लोकमार्गको पूर्वदेखि पश्चिमसम्मको ‘रेकी’ थालेको छन् । माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसारको जिम्मेवारी पाएका श्रेष्ठको टोलीले मध्य पहाडी लोकमार्गको ‘रेकी’ थाल्नुको उद्देश्य हो, चिनियाँ नेता माओले झैँ ‘लङ्ग मार्च’ सञ्चालन गर्ने संयोजक डा. भट्टराईको योजना।

डा. भट्टराईको सिक्किमसँग सीमा जोडिएको पाँचथरको चिवाभन्ज्याङबाट सुरु गरेर बैतडीको झुलाघाटमासम्म गएर टुङ्गिने लङ्ग मार्च १ हजार ७ सय ६० किमी लामो मध्यपहाडी लोकमार्गमा रहेको छ । नयाँशक्ति नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार विभिन्न कार्यक्रमका साथ माघ १५ देखि एक महीनाको अवधि मा डा. भट्टराईले मध्यपहाडी लोकमार्ग छिचोल्नु हुनेछ ।

दुई तिहाईको सरकार बनाएको एक बर्षको अवधि भईसक्दा पनि कामकार्वाहीले जनतामा कुनै आकर्षण सिर्जना गर्न नसकेपछि जनतामा निराशा सिर्जना भएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका गतिविधिका कारण जनतामा सिर्जित निराशा चिर्न र जनतालाई नयाँशक्तितिर आकर्षित गर्न डा. भट्टराईले ‘लङ मार्च’ को योजना बनाउनु भएको हो ।

गत साल भएका तीन तहका निर्वाचनमा सोचेजस्तो सफलता हासिल गर्न नसकेपछि पार्टीपंक्तिभित्र उत्पन्न निराशा चिर्न र संगठन विस्तारका लागि नयाँशक्तिले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ भन्ने अभियान नै चलाएको छ । जस अन्तर्गत पाँच महिने मंसिर देखि चैत्र भित्र सम्पन्न हुने यो अभियानका क्रममा केन्द्रीय सदस्यहरुले प्रत्येक महिना केही न केही नयाँ काम गर्नुपर्ने र त्यसले कुनै नै कुनै परिणाम ल्याउनुपर्ने शर्त का साथै
पाँच महिना, पाँच काम र पाँच परिणाम अभियानका क्रममा भएका उपलब्धिबारे प्रत्येक केन्द्रीय सदस्यले १५–१५ दिनमा पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने बाध्यात्मक शर्त राखिएको छ। काम र उपलब्धि सहितको प्रतिवेदन पेश नगर्नेलाई पार्टी केन्द्रबाट हटाउने योजना नयाँशक्तिले बनाएको छ।
डा भट्टराई ०६५ मा अर्थमन्त्री हुँदा बजेट बक्तव्यमा उनले ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामाकरण गरी बजेट समेत विनियोजन गर्नु भएको थियो। त्यसअघि खण्ड–खण्डमा निर्माण भएको सडक खण्डलाई उहालेनै ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ नामाकरण गरेर निर्माणको एउटै छातामुनि ल्याउनु भएको पनि हो । वर्तमानमा यो लोकमार्ग अहिले राष्ट्रिय गौरवको आयोजना बन्न पुगेको छ । प्रचार विभाग प्रमुख पाण्डेका अनुसार यो लोकमार्ग अभियानको संयोजन नवराज सुवेदी नेतृत्वको राजनीतिक सम्बाद समितिले गरेको छ।