Uncategorized

हत्यारा पत्ता लगाउन दवाव दिँदै

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताउनुभएको छ ।

सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काङ्ग्रेसले संसद्मा उठाउँदै आएको बताउनुभयो । “निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ” उहाँले भन्नुभयो, “घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।” भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्नुभयो ।

यसैगरी प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको बताउनुभयो ।

उहाँले जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको बताउनुभयो । देशमा हत्या, हिंसा तथा बलात्कारका घट्ना दिनप्रतिदिन घट्नुको सट्टा बढिरहेको बताउनुहुँदै नेता शर्माले भन्नुभयो, “बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन ।” नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाउनुभयो ।-रासस