Uncategorized

नेपालगञ्ज पर्यटन प्रवद्र्धनको प्रमुख नाका

राँझा । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ मा पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ बाँके नेपालगञ्जको नवौँ जिल्ला अधिवेशनको अवसरमा आज उहाँले प्रमुख गन्तव्य मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले त्यसमा आस्था राख्ने छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।

“मानसरोवर जाने हजारौँ भारतीय धार्मिक पर्यटक नेपालगञ्ज विमानस्थल प्रयोग गर्ने गरेका छन्, मौसम प्रतिकूलताले कयौँ दिन उनीहरु अलपत्रसमेत पर्ने गरेका छन्,” मन्त्री गिरीले भन्नुभयो । “यस्तो बेला उहाँहरुलाई नेपालगञ्जमै रमाउन र घुमाउन सके पर्यटन प्रवद्र्धन हुने भएकाले प्रदेश सरकारले त्यसका लागि मानसरोवरको प्रतीकात्मक स्वरुप निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।”

मानसरोवरको प्रतिकात्मक स्वरुप निर्माण कार्यक्रम बहुवर्षीय भए पनि धार्मिक पर्यटनको लागि उपयुक्त गन्तव्य बन्ने उहाँको जिकिर थियो । उहाँले बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको वनस्पति उद्यान ढकेरीलाई थप संरक्षण र संवद्र्धन गर्दै अर्को उद्यान निर्माणको समेत तयारी भएको बताउनुभयो । मन्त्री गिरीले बाँके र बर्दियालाई पर्यटन क्षेत्रको प्याकेजकै रुपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुल्ला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताउनुभयो ।