Home » Sample Page » समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा ताप्लेजुङबाट शुरु
Uncategorized

समृद्धिको परिकल्पनासहित नयाँ शक्तिको जनसंवाद यात्रा ताप्लेजुङबाट शुरु

 समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गर्नुभयो । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको उक्त जनसंवाद यात्रा एक महीनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने छ । सोही यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने बताइएको छ ।

अभियानको शुभारम्भ गर्दै डा भट्टराईले सो यात्रा तथा अभियान मुलुकको समृद्धिसँग जोडिएको बताउनुभयो । जनसंवाद यात्रा तथा अभियान आफ्नो पार्टीको एजेण्डा नभई साझा अभियानका रुपमा यसको शुभारम्भ गरिएको उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भुगोललाई मात्रै नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत समृद्धिको सुत्र तयार हुने डा भट्टराईले स्पष्ट पार्नुभयो ।

जनसंवाद यात्रामा उहाँका धर्मपत्नी एवं सो पार्टीकी नेता हिसिला यमी, नयाँ शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । ‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’ नारा दिइएको उक्त यात्रा तथा अभियानका क्रममा २७ जिल्लाका करीब ९० स्थानमा कार्यक्रम गरिने नयाँ शक्ति पार्टी नेपालका ताप्लेजुङ संयोजक सविन बानियाँले जानकारी दिनुभयो ।