Uncategorized

महोत्सवस्थलमा वीरता जेसीजको निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव स्थलमा वीरता जेसीजको आयोजनामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महोत्सव अवलोकन गर्न आउनेहरुको सुविधालाई ध्यानमा राख्दै महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे, मनमोहन अस्पताल बिर्तामोड, बीएण्डसी अस्पताल बिर्तामोड र ओम झापा मेडिकल बिर्तामोडको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वीरता जेसीजका अध्यक्ष विशाल थापाले जानकारी दिए ।

शिविरमा एक सय १० जना उच्च रक्तचाप, मधुमेह र हाडजोर्नी नशा सम्बन्धीका विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेका डा. भुवन थापा तथा नमिता मेचे, प्रेमा राई, पुजन राई, सागर राजवंशी, ओम न्यौपाने लगायतको टोलीले विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।
वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुवास खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्य संयोजक सुरेश खतिवडाले स्वागत गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष जीवन खड्काले आस्था वाचन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सव मुल आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी डा. भुवन थापा, डिएसपी सुवास खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका पूर्व अध्यक्षहरु हेम खड्का, सजेश शिवाकोटी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कुशल खतिवडाले गरेका थिए ।