Uncategorized

सातै जनाको शव फेला : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडिसकेको समेत प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना भएको स्थान विकट भएकाले हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । यसैबीच हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हेलिकप्टरमा सवार सबैको निधन भएको आशङ्का गरिएको तर त्यहाँ पुगेका सुरक्षाकर्मीले शव चिह्न नसकेको बुझिएको छ ।

मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।-रासस