अर्थ-स्वास्थ्य

राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैदेशिक लगानी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो । त्यसअघि सांसद देवप्रसाद गुरुङले राष्ट्रिय पूँजी निर्माण हुने र राष्ट्रिय हितअनुकूलका विदेशी लगानी मात्र भित्र्याउनुपर्ने जोड दिँदै घरेलु उद्योग, कृषि, सुरक्षण मुद्रण, हस्तकलालगायत क्षेत्रमा विदेशी लगानी भित्र्याउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमबहादुर रावलले विधेयकका सैद्धान्तिक पक्षमा सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रको सर्वोपरि हितका लागि विदेशी लगानी भित्र्याउने उद्देश्य भए पनि राष्ट्रिय हित तथा सुरक्षा, मौलिक उत्पादन र सीपलाई ख्याल राख्नुपर्ने बताउनुभयो । माथिल्लो कर्णाली आयोजनाको दुई दुई पल्ट म्याद थप हुँदासम्म काम सम्पन्न हुन नसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले वैदशिक लगानी भित्र्याउने नाउँमा आयोजना सम्पन्न हुने समयावधि तोकिनुपर्ने बताउनुभयो । विदेशी लगानीमा स्थापना हुने उद्योगमा काम गर्न आउने विदेशी श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिँदै उहाँले राष्ट्रिय हितमा हुने लगानी मात्रै भित्र्याउनुपर्ने प्रस्ट पार्नुभयो ।

सांसद सोमप्रसाद पाण्डेयले उद्योगलाई प्रोत्साहन र बढावा दिन सरकार लाग्नुपर्नेमा जोड दिँदै विदेशी लगानी भित्र्याउँदा मुलुकका उद्योगी र उत्पादन सङ्कटमा पर्नसक्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कृषिजन्य उद्योगमा विदेशी लगानी भित्र्याउन नहुने सुझाव पनि दिनुभयो । सांसद कृष्णभक्त पोरखेरलले विधेयकले विदेशी पूँजी, प्रविधि र लगानीलाई भित्र्याउन सामरिक योजना प्रस्तुत गरेको बताउनुभयो । केही कृषिजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुन लागेको अवस्थामा सो क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा पर्न सक्ने जटिलतातर्फ सरकारले ध्यान दिनुपर्ने उहाँले औँल्याउनुभयो ।

सांसद मेटमणि चौधरीले स्वदेशी पूँजीको निर्माण र विदेशी पूँजीको आर्जन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद भरतकुमार शाहले घरेलु उद्योग, वन तथा कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन नहुने बताउनुभयो । स्वदेशी लगानीमा स्थापना भएका साना उद्योगका क्षेत्रमा विदेशी लगानी खुला गरेर जाँदा स्वदेशी उद्योगधन्दा बन्द हुने अवस्था आउनेतर्फ उहाँले सचेत गराउनुभयो ।

विधेयकको सैद्धान्तिक पक्षमा भाग लिँदै मोहन बानियाँ, केदार सिग्देल, गोपालबहादुर बम, सूर्यप्रसाद पाठक, नारदमुनि राना र सञ्जयकुमार गौतमले समृद्धिको यात्रा तय गर्नका लागि सर्वपक्षीय सहमति जरुरी रहेको बताउनुभयो । सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री यादवले पूँजी र उच्च प्रविधिको प्रयोग नगर आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भएकाले विदेशी लगानी र प्रविधि भित्र्याउन जरुरी भएको बताउनुभयो । कृषि, लघु र घरेलु उद्योगमा विदेशी लगानी भित्र्याउनु हुन्न भन्ने चासोलाई सरकारले सम्बोधन गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई नै केन्द्रमा राखेर विधेयक ल्याइएको बताउनुभयो । -रासस