Uncategorized

पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक : नेता केसी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । “विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,” नेता केसीले भन्नुभयो, “राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।”

जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उहाँले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिनुभयो । प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पार्नुभयो । पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उहाँको भनाइ थियो ।