Uncategorized

कैलालीको राजीपुर जङ्गल नजिक बसमा र तुलसीपुरमा दुई ट्रकमा आगजनी : विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ

काठमाडौँ  ।सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले उपत्यकाको तीनै जिल्लामा अहिलेसम्म शान्ति सुरक्षामा कुनै असर नपरेको बताउनुभयो । “उपत्यका शान्त छ, अहिलेसम्म तीनै जिल्लामा कुनै घटना भएको छैन, निर्वाधरुपमा सवारी चलेका छन्, जिल्लाबाटै लामो दूरीका गाडी नआएकाले भित्रिने र बाहिरिने सङ्ख्या कम छ”, क्षेत्रीले भन्नुभयो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौँको सवारीसाधन आवागनमा कुनै समस्या नरहेको तर त्रासका कारण स्कूल, क्याम्पस भने प्रभावित भएको जानकारी दिनुभयो । बुधबार राति अनामनगरमा भेटिएको शङ्कास्पद वस्तु नक्कली बम रहेको भन्दै तर्साउनका लागि राखिएको उल्लेख गर्नुभयो ।

उता धनगढीमा भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताउनुभयो ।

भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् ।  कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् । यसै गरी कैलालीको जोशीपुर, सुखड र साडेपानीमा बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको फेला परेपछि स्थानीय जनजीवन आतङ्कित बनेको छ । बन्दका क्रममा आज कैलाली जिल्लामा यातायात, शैक्षिक संस्था, उद्योग व्यापार ठप्प रही जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै बाँकेमा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उहाँले जानकारी दिनुभयो ।

बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो । बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन् । नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन् । सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन् ।

उता नवलपरासीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव पश्चिम नवलपरासीमा पनि परेको छ । पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन खासै चलेका छैनन् । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा बढी मात्रामा रहेको पाइन्छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ तुलसीपुर चोकमा रोकी राखिएको दुई ट्रकमा आगजनी भएपछि बन्दको प्रभाव झन बढी देखिएको हो ।

राति १ बजेको समयमा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समूहले आगो लगाउँदा दुवै ट्रकको पछिल्लो दुई चक्का अर्ध जलेको प्रहरीले जनाएको छ । दुवै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकलाई पुर्ण क्षति हुनबाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समूहले नलिएकाले ट्रकमा आगो लगाउने समुह अज्ञात रहेको प्रहरीले जनाएको छ । चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ । आज थप दुई जना पक्राउ परेको उहाँले बताउनुभयो । अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।

सिलिण्डर विष्फोटबाट भवन पूर्णरुपमा क्षति भएको थियो भने विष्फोटपछिको आगजनीले कागजपत्र पूरै जलेको प्रहरीले जनाएको छ । यस्तै विप्लव माओवादीले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लास्थित सम्पूर्ण व्यावसायिक प्रतिष्ठान, विद्यालय, बजार बन्द भएको छ । लामो दूरीका यातायात कम चलेका छन् । फाटफुट रुपमा छोटो दूरीका सवारी चलेका छन् ।

बन्दका क्रममा पूर्व पश्चिम राजमार्गमा सवारी रोकिएपछि प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पु¥याउन थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुर, नवलपरासी, काठमाडौँबाट आएका सवारी र जिल्लाबाट बाहिरिने सवारीलाई स्कर्टिङ गरेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । मकवानपुरबाट आएका सवारीलाई लोथरबाट, नवलपरासीबाट आएका गाडीलाई नारायणी पुलबाट र काठमाडौँबाट आएका सवारीलाई मौवा खोलाबाट प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो ।-रासस