अर्थ-स्वास्थ्य

महानगरले अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने

काठमाडौं । काठमाडौंं महानगर क्षेत्रभित्र एउटा पनि अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल नभएको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले अत्याधनिक प्रदर्शनी स्थलको निर्माण गर्ने बताउनुभएको छ । हनुमानढोकामा ३ दिने महिला उद्यमी हस्तकला व्यापार मेला शुरु गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । व्यापारले सहरलाई गतिशील बनाउँछ । भृकुटीमण्डपमा चलिरहेको व्यापार मेलालाई उधृत गर्दै मेयर शाक्यले भन्नुभयो, भृकुटीमण्डपमा व्यापार मेला चलाउँदा सुबिधाका अभावमा राम्रा व्यापारी आएनन् । आएका पनि टिकेनन् । मलाई नेपाल उद्योग वाणिज्य महासंघबाट पनि ध्यानाकर्षण भएको छ । उहाँले थप्दै भन्नुभयो । मैले यो कुरा गरेपछि बिरोध गर्नेहरु पनि देखिनेछन् । तर राम्रो काम गर्दा बिरोध बाट डराउँदिन । उहाँले बस्तु उत्पादन गरेर मात्र नहुने बताउँदै उत्पादिन बस्तुको राम्रो बजार बनाउनुपर्ने खाँचो देखायनुभयो ।

शुभारम्भ अवसरमा बोल्दै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले महानगरले महिला शशक्तिकरणका लागि खण्ड खण्डमा होइन एकीकृत रुपमा कार्यक्रम अघि बढाएको बताउनुभयो । महानगरभित्र सीपमुलक तालिम लिएका महिलाहरुले उत्पादन गरेको यी सामाग्रीहरुले महिलाहरुको आय बढ्छ । उहाँले भन्नुभयो घर बाहिर जाँदा श्रीमान्सँग खर्च माग्नु परेन भने पनि महिलाहरुमा ठूलो परिवर्तन आउँछ । यसले थप काम गर्ने हौसला बढ्छ । यसबाट समाज रुपान्तरणमा राम्रो परिणाम ल्याउँछ ।

प्रदर्शनीमा हातले बनाएका १ सय रुपैयाँ मुल्यदेखि ५० लाख मुल्य सम्ममा सामान राखिएका छन् । यसरी राखिएका सामानमा ढाका, बाँस तथा अल्लोका कपडा, आचर, मौलिक खानेकुरा, पोते, गरगहना, मूर्तिलगायत छन् । महिला उद्यमशिलताकी अध्यक्ष बीणा गौतम शाक्यले दिनको १० हजार व्यक्तिले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको बताउनुभयो । १०९ औं नारी दिवसको अवसरमा पारेर शुरु गरिएको मेलामा यसपालीको नारी दिवस लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार नारासहित मनाउने क्रम चलिरहेको छ । -चन्द्रमणि भट्टराई