स्वास्थ्य

पालिकाहरुलाई योजना बनाउन नदिनु यसअघिको कमजोरी

काठमाडौँ । यस अघि सञ्चालन गरिएका कोविड विरुद्धका खोप कार्यक्रमको समीक्षा गर्दै आज काठमाडौँ महानगरको जनस्वास्थ्य विभागले उपत्यकामा एउर्टै सयममा कार्यक्रम चलाउनु पर्ने निष्कर्ष निकालेको छ । उपत्यका ३ वटा जिल्लामा एकै समयमा कार्यक्रम सञ्चालन नगर्दा पहिलो सञ्चालन गर्ने पालिकामा अन्य पालिकाबाट खोप लगाउन मानिसहरु आउने भएपछि व्यवस्थापकीय समस्या थपिने विगत सिकाइ हेरेर यस्तो निष्कर्ष निकालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, विभागका अधिकारी र खोप संयोजकविच सम्पन्न समीक्षामा खोपको अभाव, खोप लगाउन दबाब तथा माग र आपूर्तिको सन्तुलन नमिल्दा सिर्जना भएको सुरक्षा खतरासम्मका कुरा उठेका थिए ।

खोप व्यवस्थापनका लागि पालिका स्तरबाट योजना निर्माण नदिइ माथिल्ला निकायले मिति र समय तोकेर खोप चलाउन निर्देशन दिएपछि खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएन । अत्यावश्यक सेवामा काम गर्नेलाई खोप दिनु पर्नेभएपछि कम उमेरकाले खोप पाए, तोकेका उमेरका व्यक्तिले पाएनन् भन्ने गुनासा प्रशस्तै छन् । समीक्षामा खोप संयोजकहरुले केन्द्रमा आफूले भोगेका समस्या सुनाएका थिए ।

जुन अस्पतालमा खोप केन्द्र छ । ती अस्पतालले कोटा माग गरेपछि व्यवस्थापकीय समस्या झन चर्को भयो, खोप संयोजकहरुको अनुभव छ । कति मात्रा खोप आउने हो, यसको आँकलन नगर्दा तोकिएको समय अगावै कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आयो । यसले खोप पाउने आशामा बसेका व्यक्तिमा निराशा छायो । यस प्रकारको समस्या समाधानका लागि खोप केन्द्र व्यवस्थापनसँग सुक्ष्म योजना बनाउनु पर्छ । धारणा राख्नेहरुको जोड थियो ।

नागरिकले चाहेको खोप कार्यक्रम सञ्चालन गर्न अब सबै तहका खोप समन्वय समितिहरुको भूमिकालाई स्वीकार गर्नुपर्छ । अहिले वडा स्तरीय र पालिका स्तरीय समन्वय समितिको भूमिकालाई निष्क्रिय बनाउन खोजिएको छ । यसले गर्दा खोपका लक्षित समूहले सहज रुपमा खोप पाएनन् । खोप अधिकारीहरुको सुझाव छ । त्यस क्रममा बोल्दै समन्वय समितिका प्रमुख राजवैद्यले, खोप कार्यक्रम पालिकाले योजना बनाएर पालिकाले नै चलाउनु पर्ने धारणा राख्नुभयो । यस अघि जिल्ला खोप समन्वय समितिको बैठकमा आफूले महानगरका वडास्तरमा खोप केन्द्र सञ्चालन हुनुपर्छ भन्ने धारणा राखेको बताउँदै राजवैद्यले भन्नुभयो, ‘खोपका विषयमा जनप्रतिनिधि बेखवर जस्तै हुनु परेको छ ।’ समीक्षामा जिल्ला समन्वय अधिकारीले खोप कम भएको र माग धेरै भएकोले व्यवस्थापकीय जटिलता सिर्जना भएको उल्लेख गर्नुभयो ।

खोप कार्यक्रम चलाउन योजना बनाउने समय नै पाइएन । खोप चल्ने अघिल्लो दिन अबेर गरी माथिल्ला निकायबाट परिपत्र हुने गरेका छन् । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘कार्यक्रम सञ्चालन हुने दिन पनि समयमा हामीलाई सामाग्री प्राप्त हुँदैन । प्राप्त भएका सामाग्री पनि अधुरा हुन्छन् । खोप हुन्छ, कार्ड हुँदैन । कार्ड हुन्छ, खोप हुँदैन ।’ खोप सञ्चालनका विषयमा माथिल्ला निकायबाट समयमा र स्पष्ट निर्णय हुन नसकेका कारण लाभग्राहीलाई उत्तर दिन आफूहरुलाई कठिन भएको जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलेको भनाइ छ ।

काठमाडौँका ठूला अस्पतालमा अरु रोगको उपचार गर्न आउने विरामीहरुको त्यत्तिकै पनि भीड हुन्छ । त्यस भीडमा लगेर कोविडको खोप केन्द्र राखिनु आफैँमा बैज्ञानिक छैन । महानगरका कोविड खोप फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘काठमाडौँ महानगर आफैँ खोप कार्यक्रम चलाउन सक्षम छ । कन्ट््याक्ट ट्रेसिङ्, पीपीआर र एन्टिजेन परीक्षणजस्ता जोखिमपूर्ण काम गर्ने महानगरले खोप चलाउन नसक्ने भन्ने कुरै आउँदैन ।’

सरकारले भोलिदेखि ६ गतेसम्म ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ बर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एण्ड जोन्सन खोप दिँदैछ । महानगरमा यस अघि सञ्चालन भएका खोप कार्यक्रम विचबाटै रोकिएको घटना नदोहारियोस् भनेर लक्षित समूहको वडागत अनुमानित विवरण जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ । ०६८ को जनगणना र जनसंख्या वृद्धि दरलाई विश्लेषण गर्दै विभागले करीव ७६ हजार खोप आवश्यक पर्ने आँकलन गरेको छ । जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो ।