धर्म/संस्कृति

वर्षेनी बर माग्न हजारौ भक्तजन आउँछन् बडिकेदार मेलामा

डोटी । नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’ । अग्लो डाँडोबाट यस्ता दृश्य अवलोकन गर्दा कसको पो मन फुरुङ्ग नहोला र ! सरर्र बग्ने हावासँगै सल्लाका कुसुम चलमलाउँदा त्यहाँ पुग्नेको मन झनै प्रशन्न हुनेगर्छ । यहाँ पुग्ने जो कोही बडिकेदारको सौन्दर्यमा लिप्त हुने गर्छन् । सधैँ उही र उस्तै प्रकृतिको वातावरण रहने बडिकेदारमा भने हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालुको भीड लाग्ने गर्दछ ।