विविध

हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन : मेयर शाक्य

काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई आज ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गरेको हो । डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन रहेको यो पुस्तक सहरी योजना आयोगले प्रकाशनमा ल्याएको हो । ०७७ भदौमा १ हजार प्रति छापेर पुस्तकको पहिलो संस्करण तयार पारिएको थियो ।

यसलाई ०७७ मंसिर २९ गते २६ औँ महानगर दिवसको सन्दर्भ पारेर पहिलो पटक सार्वजनिक गरिएको थियो । पुस्तकमा जात्रा सञ्चालन हुने रुटलगायतका विषयमा रजिता शाक्य उदासका नक्साहरु र जात्राका सामाजिक, सांस्कृतिक पक्षमा स्व. एकाराम सिंहले कोर्नुभएका चित्र राखिएका छन् ।

पुस्तक वितरण गर्दै महानगरका प्रमुख शाक्यले, इन्द्रजात्राको व्यापकताका विषयमा कुरा गर्दै, राष्ट्रिय पर्वका रुपमा मनाइने जात्रालाई नेवार समुदायले सञ्चालन गरेको उल्लेख गरे । जात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले प्रयास गरिरहेको छ । शाक्यले भने, ‘०७६ सालमा महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुख र प्रतिनिधिलाई बोलाएर जात्राको अवलोकन गराएका थिए । जात्राको गरिमा उनिहरुले आफ्नो परिवेशमा सुनाएका खवर आफूले प्राप्त गरिरहेको बताउँदै उनले, महामारीको अवस्था हेरेर अनुकुल भए यस बर्ष पनि भगिनी सहरका प्रमुख र प्रतिनिधिहरुलाई बोलाउने उल्लेख गरे ।

त्यस अवसरमा मेयर शाक्यले, काठमाडौँका सबै वडाका जात्रा र पर्व सञ्चालन गर्न महानगरले आफ्नो दायित्वमा पर्ने काम गरेको उल्लेख गर्दै, मूर्त अमूर्त सम्पदा जोगाएर पर्यटन व्यवस्थापनसँग अन्तरसम्बन्धित बनाउने योजना कार्यान्वयनमा गुठीयारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

त्यस क्रममा पुस्तकका लेखक तथा प्रदेश सभा सदस्य डा. अजय क्रान्ति शाक्यले, इन्द्रजात्रासँग सम्बन्धि व्यक्ति तथा सरोकारवालाहरुको भनाइलाई पहिलो तथ्य र शिलालेख, आलेख, ग्रन्थ तथा प्रकाशनहरुलाई दोस्रो तथ्यका रुपमा लिएर अनुसन्धानका प्रक्रियाबाट पुस्तक तयार पारिएको उल्लेख गरे ।

हामीले इन्द्रजात्रालाई ३ सय बर्ष अघिको मान्दै आएका छौँ । तर, अनुसन्धानले यो पर्व वैदिक कालदेखि चल्दै आएको देखाउँछ । सिन्धुघाँटीको सभ्यतासँग यसका चालचलन मिल्दाजुल्दा छन् । डा. शाक्यले यसको ऐतिहासिकताका विषयमा थप्दै भने, ‘यसलाई काठमाडौँमा मनाइने भएकोले काठमाडौँसँग जोडेर बुझ्ने गरिन्छ । तर यो काठमाडौँ भन्दा पनि धेरै इन्द्रसँग सम्बन्धित पर्व हो । शुरुवात्देखि अहिलेसम्म इन्द्रध्वज उत्थानलाई मुल क्रियाकलाप मानेर विभिन्न सांस्कृतिक र सामाजिक पक्ष थपिँदै गएका हुन् ।’ उनकाअनुसार कुमारीको रथ तान्ने, विभिन्न तान्त्रिक नाचहरु देखाउने चलन करीव ३ सय बर्षदेखि चलेका हुन् भने जात्रालाई त्यस अघि नै मनाउने गरिन्थ्यो ।

महानगरले सांस्कृतिक चालचलन र सम्पदा बचाउन गरेका प्रयासका बारेमा चर्चा गर्दै उनले अनुसन्धानमा आधारित पुस्तक प्रकाशन गरेर सम्पदाको तथ्यगत अभिलेखीकरणको प्रशंशा गरे । त्यस क्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले, इन्द्रजात्राको प्राचीनताका विषयमा यस अघि हुने गरेका अड्कललाई पुस्तकले यथार्थ सूचना दिने विश्वाश व्यक्त गरे । पर्वसँग सम्बन्धित चालचलनलाई व्यवस्थित गर्न तथा त्यसलाई सुधार गर्न पुस्तकले सहयोग गर्ने उनको भनाइ थियो ।

पुस्तकको परिचय खण्डमा मौलिक जात्राका रुपमा काठमाडौँ मनाइने जात्रा र काठमाडौँबाहिर भक्तपुर, ललितपुर, दोलखा, प्यांगा र विदेशमा मनाइने इन्द्रजात्राका विषयमा चर्चा गरिएको छ । इन्द्रजात्राको इतिहासका विषय उल्लेख गर्दै पुस्तकमा पूर्व वैदिक काल, वैदिक काल, पौराणिक काल, किराँत काल, लिच्छवीकाल, मल्ल काल, शाह काल र अहिलेको अभ्यासका विषयमा चर्चा गरिएको छ ।

इन्द्रजात्राका सांस्कृतिक पक्षहरु यःसिं थने, उपाकु बने, कुमारी, गणेश र भैरव छनौट तथा जात्रामा उउनहरुको रथ यात्रा, हाथु हायेके, दागिं, इन्द्रद्य ब्वये, ग्वरा लगायत परम्पराका विषय समेटिएका छन् । जात्रासँग सम्बन्धित नाचहरुमा दीप्याखँ, लाखे, पुलुकिसी, सबःद्य, महाकाली प्याखँ, दश अवतार लगायतका विषयमा चर्चा गरिएको छ । यसै गरी लोप भएका दबू प्याखँ र खः प्याखंका विषयमा पनि चर्चा गरिएको छ ।

इन्द्रजात्रासँग सम्बन्धित गुठीयारहरु, यससँग राजनीतिक, सांस्कृतिक, सामाजिक सम्बन्ध, महानगरपालिका र जात्राको सम्बन्ध तथा यसलाई पर्यटन प्रवर्धनसँग जोड्न महानगरले गरेका प्रयास पनि पुस्तकमा समेटिएको छ । पर्वसँग सम्बन्धित चित्र, पर्व मनाउँदा फोटो पत्रकारहरुले खिचेका तस्विर र उपाकु मार्ग, क्वः नेयाः मार्ग, थः नेयाः मार्ग, दागिं र वौमत जाने मार्गको नक्सा राखिएको छ ।