काठमाडौँ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा लक्षित समूहका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउन आज काठमाडौँ महानगरले सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लुलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले परिषदमा पुगेर उक्त रकमको चेक प्रदान गरेको हो । परिषदले सञ्चालन गरेको अस्पतालमा ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ ।
रकम हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले, राजधानी सहर काठमाडौँ महानगरले आफ्ना नागरिकसँगै देशभरिबाट उपचारका लागि काठमाडौँ आउने विरामीको सहजता र सहुलियत खर्चका लागि लगानी गरिरहेको बताए । ‘हामीले सरकारी र सामुदायिक अस्पतालको क्षमता विकास गर्न सघाएका छौँ । संघ सरकारले गर्ने काम महानगरले किन भन्ने प्रश्नलाई स्वीकार गर्दै नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार जोगाउन लगानी बढाएका हौँ ।’ शाक्यले भने, ‘हामीले विशेषज्ञ सेवा प्रदान गर्ने क्षमता भएकाहरुबाट सहयोग लिने नीति लिएका छौँ । त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेन्टिलेटर हस्तान्तरण गरेका थियौँ । २ ओटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ ।’
‘हामीले सम्पदाको मर्मत सम्भारदेखि भौतिक पूर्वाधार र सुविधा वितरणका सवै पक्षलाई सन्तुलित रुपमा अघि बढाएका छौँ ।’ कोविडको दोस्रो लहरका समयमा महानगरले आफैँ र महानगरको सहयोगका सञ्चालन गरिएका स्वास्थ्य सेवाका विषयमा चर्चा गर्दै उनले भने, ‘विकास निर्माणका लागि होस या सुविधा प्राप्त गर्न होस् । कसैले पनि डेलिगेसन लिएर महानगरमा आउनु परेको छैन । हामी आफैँ घरदैलोमा पुगेर आवश्यकता सोधेका छौँ । हामी पूर्वाधार विकास गरेर नागरिकलाई हस्तान्तरण गर्न चाहन्छौँ । यसको संरक्षण र दिगो उपयोग गर्ने जिम्मा स्थानीयकै हो ।’
त्यस क्रममा महानगरपालिकाका प्रवक्ता एवम वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, परिषदबाट प्रदान गरिने स्वास्थ्य सेवा करदाता र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकका लागि निःशुल्क र अन्यका लागि सहुलियत शुल्कमा प्रदान गर्ने योजनाअनुरुप काम भइरहेको जानकारी गराए । यो भेगमा बसोबास गर्ने व्यक्तिहरुले स्वास्थ्य सेवा लिन टाढा पुग्नु नपरोस् भन्ने हाम्रो चाहना हो । डंगोलले वडास्तरीय सेवाका विषयमा कुरा गर्दै आफूहरुले विगत ४ बर्षमा अनुभूति योग्य काम गर्ने प्रयास गरेको बताए । परिषदको क ब्लक महानगरले गरेको सहयोगको आडमा निर्माण भएको छ । अहिले दोस्रो ब्लक बन्दैछ । यो महानगरले नै बनाइदिएको हो । कार्यक्रममा परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले, समुदायस्तरीय स्वास्थ्य सेवाका लागि महानगरको लगानी अभिभावकीय भूमिकाको उदाहरण भएको उल्लेख गरेका थिए ।
महानगरले परिषदमा गरेको लगानीबाट जनताले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष लाभको महसुस गर्न सक्छन् । कार्यक्रममा परिषदका महासचिव मुकुन्दप्रसाद पाण्डेय र सचिव प्रकाश श्रेष्ठले सामुदायिक विकासप्रति सरकारको भूमिकाका विषयमा चर्चा गरेका थिए । परिषदले २ रोपनी ९ आना १ पैसा जग्गामा भौतिक संरचना बनाएर निःशुल्क र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
Add Comment