Uncategorized

गुटबन्दीका कारण महिलालाई नेतृत्वमा स्थापित गर्न सकिएन : नेता खनाल

काठमाडौँ, १९ फागुन । मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई आज सम्मान गरेको छ । सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ हुनुहुन्छ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उहाँहरुलाई सम्मान गर्दै पार्टीभित्र व्याप्त गुटबन्दीका कारण महिला अधिकारका लागि जीवनभर संघर्ष गर्ने महिलालाई नेतृत्वमा स्थापित गर्न नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा ६८ वर्ष अगाडिदेखि शुरु भएको जनक्रान्ति सम्पन्न भएको बताउँदै संविधानसभाबाट जारी भएको संविधानले सबैका अधिकारलाई सुरक्षित गरेको भए पनि महिला अधिकार प्राप्तिमा अझै पनि पछि परेको र उनीहरुलाई शोषण भइरहेको बताउनुभयो । प्रदेश सांसद केशव खनाल, पूर्व सांसद गरिमा शाहलगायतले महिला सशक्तीकरणका लागि लामो संघर्ष गरेको अनुभवी नेता महिला भएका कारण, आफ्नो गुटमा नपरेका कारण जिम्मेवारीबाट वञ्चित गराउँदा नयाँ पुस्ता राजनीतिप्रति आकर्षित हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।