स्वास्थ्य

भारतद्वारा स्वास्थ्य मन्त्रालयलाई मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं ।  दक्षिण छिमेकी भारतले स्वास्थ्य तथा जनंसख्या मन्त्रालयलाई ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले बिहीवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरे ।

उक्त मेडिकल अक्सिजन प्लान्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । प्रतिव्यक्ति ५ एलपीएम (लिटर प्रतिमिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम छ । प्लान्टले एकसाथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्छ ।

राजदूत क्वात्राले अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड–१९ महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताए । मन्त्री श्रेष्ठले प्लान्टको मद्दतले नेपाललाई कोभिड–१९ महामारी विरुद्घको लडाइमा थप बल पुग्ने उल्लेख गरे ।