स्वास्थ्य

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन : रिपोर्ट

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो देखिएको हो । भदौ ६ गते यस वडामा ७० बर्षिया एक वृद्धाको मृत्यु भएको थियो । यो मृत्यु हैजाका कारण भएको र हैजा फोहोरबाट आएको जनाउँदै स्थानीयले भदौ १० गतेबाट ल्याण्डफिल साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् । वडाध्यक्ष चन्द्रबहादुर बलामीले स्थानीय मागलाई पुष्टि गर्दै भन्नुभयो, ‘मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग हो ।’

वडामा हैजाको कुरा चलेपछि त्यस क्षेत्रबाट भदौ १० गते ५ जना व्यक्तिको दिशा र ४ परिवारले पिउने पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । यसरी संकलन गरिएको दिशाको नमूनामा ३, २७, ३८ र ५८ बर्षिया ४ जना महिला र ६९ बर्षिय १ पुरुषको थियो । भदौ १३ गते प्राप्त भएको रिपोर्टअनुसार पानी र दिशा दुवै नमूनामा हैजा (कोलेरा) नेगेटिभ देखिएको ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।