धर्म/संस्कृति

आज कुसे औंसी : कुस भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि

सप्तरी  । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज मंगलबार मनाइँदैछ । आज घरघरमा कुस पनि भित्र्याइँदैछ । सनातन वैदिक हिन्दु धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि कुस आजै घरमा राखेर पूजा गर्छन् । ब्राहृमणहरू कुस पूजा गरेर छेदनसहित जजमानकहाँ पुर्‍याउँछन् ।वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिन्छ ।

आज छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ पर्वकाे रुपमा पनि लिइन्छ । तराई मधेसमा पुरुषहरूले वर्षभरिका लागि पुग्ने कुस भित्र्याउँछन्। आज घरमूली बुवा, दाजु लगायतले बिहानै उठेर नहर, पोखरीको छेउ, खेत वा कुस पाइने ठाउँमा जान्छन् । र, कुस भित्र्याउँछन्।

हिन्दु धर्ममा बिवाह, व्रतबन्धलगायत शुभकार्य वा मृत्यु संस्कारमा कुसको आवश्यकता हुने भएकाले कुस भित्र्याउने प्रचलन रहेको सप्तरीकाे विष्णुपुर गाउँपालिकाका स्थानीय विजय देवले बताए ।-सुधा देव/न्युज कारखाना