अन्तराष्ट्रिय स्वास्थ्य

अमेरिकामा कोभिड बढेपछि थप कडाई, सबै कर्मचारीले हरेक साता अनिवार्य परीक्षण गर्नुपर्ने

वासिंगटन । अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् । डेल्टा भेरिअन्टका कारण अझै पनि दिनँहु ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन् । घोषित नयाँ नियम अनुसार ठूला कम्पनीका सम्पूर्ण कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने छ ।  त्यस्तै, उनीहरुले साप्ताहिक रुपमा आफ्ना कर्मचारीको कोभिड परीक्षण गराउनुपर्नेछ ।

८ करोडले अझै लगाएनन् खोप
८ अहिले पनि कोरोनाका कारण दैनिक औषतमा दुई हजार जनाको मृत्यु हुने गरेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म साढे ६ लाख ७४ हजारको मृत्यु भइसकेको छ । अहिले दिनहुँ डेढ लाख भन्दाबढी अमेरिकी संक्रमित हुने गरेका छन् । नयाँ नियमले करोडौं अमेरिकी प्रभावित हुनेछन् । अझै पनि अमेरिकामा ८ करोडले कोभिडबिरुद्धको खोप लगाएका छैनन् ।

खोप लगाएको प्रमाण पेस गर्नुपर्ने
शुक्रबार ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एक सय जना कर्मचारी हुने हरेक कम्पनीले आफ्ना सबै कर्मचारीले  खोप लगाएको प्रमाण पेस गर्नुपर्ने र साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने बताए । ‘यो अभिव्यक्ति स्वतन्त्रता वा व्यक्तिगत छनौटको विषय होइन । तपाईँहरुको जीवन रक्षा गर्न नयाँ नियम ल्याइएको हो । ’

संघीय सरकारले उपलब्ध गराएको सुविधा लिइरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीले पनि पछिल्ला नियम पालना गर्नुपर्ने हुन्छ । सरकारको नयाँ घोषणाको रिपब्लिकनले बिरोध गरेको छ ।-एजेन्सी