स्वास्थ्य

दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी खटायो भेरीले

जाजरकोट ।  दादुराको संक्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । जाजरकाेटका विद्यालयमा गएर विद्यार्थीलाई दादुराको संक्रमण भए/नभएको बारेमा जाँच भइरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए । मंगलबारकाे परीक्षणले थप दुई जनामा दादुरा संक्रमण फेला परेको उनले बताए । एक साता अघि मात्र मात्र रावतगाउँका दुई बालबालिकाको नमुना संकलन गरी नेपालगन्ज पठाएकोमा सो नमुनामा दादुरा भएको पुष्टि भएको थियो ।

त्यसपछि भेरी नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घरघरमा उपचार सेवा सुरु गरिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्तीले बताए ।  नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो । तर यो रोगको संक्रमण नघटेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारिएको छ ।-न्युज कारखाना /हेमन्त केसी