स्वास्थ्य

नेपाली विमानमा चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो : हिमाली जिल्ला प्राथमिकतामा

काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने । हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।-न्युज कारखाना