अर्थ

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे, व्यवसाय चौपट भएको व्यवसायीको गुनासो 

मुगु  । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बालीको भण्डार भनेर चिनिन्छ । यहाँ विभिन्न प्रकारका दर्जनौ पर्यटकीय स्थल छन् । रैथाने बालीको पनि उत्तिकै सम्भावना रहेको क्षेत्र हो । यहाँ आउने जोसुकै पर्यटकले एकपटक यहाँको पर्यटन स्थलको अवलोकन गर्ने र अर्गानिक खाना खान रुचाउँछन् ।

नखाएर पनि कोही बाहिरिएका छैनन् । प्राय सबै यहाँको अर्गानिक बस्तु चाखेर र पर्यटकीय स्थलहरु घुमेरै जान्छन् । यहाँ भित्रिने पर्यटकहरु रारा ताललाई  प्राथमिकतामा राखेर आए पनि अन्य पर्यटक स्थलतर्फ तान्ने माध्यम बनेको छ सामुदायिक हामेस्टे । तर कोभिडका कारणले होमस्टे प्रभावित भएको छ । अहिले यी होमस्टेहरु पर्यटकको पर्खाइमा छन् ।

जिल्लामै बढी पर्यटकीय स्थल भएको मुगुम कार्मारोङ्ग गाउँपालिकाको वडा नम्बर ८ स्थित माँग्री गाउँमा कार्मारोङ्ग सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । करिब ५० घरधुरीले सञ्चालन गरेको यो ब्यवसाय अहिले धराशायी हुने अवस्थामा पुगेको छ । पछिल्लो समय पर्यटकको आवागमन न्युन भएकाले होमस्टेहरु पर्यटकको पर्खाइमा रहेका छन् । होमस्टे व्यवसायी गर्दे आइरहेका उनीहरु आज भोलि खाली हात बसेका छन् भने होमस्टे पनि थला पर्ने अवस्थामा छ । स्थानीय सरकारले कुनै चासो  दिएको छैन ।

व्यवसाय चौपट

पछिल्लो समय सामुदायिक होमस्टेमा पर्यटक नआउँदा हिजोआज सुनसान अवस्थामा रहेका छन् । माग्री गाउँमा केही वर्ष पहिला सञ्चालन गरिएका २ दर्जनभन्दा बढी सामुदायिक होमस्टे हिजो आज पर्यटकहरु नआउँदा व्यवसाय चौपटमा परेको छ ।

विगतका वर्षहरुमा होमस्टेमा ओइरो लाग्ने गरेका पर्यटक आजभोलि पुग्न सकेका छैनन् । पहिला रारा घुम्न आउने पर्यटकहरु एक अवश्य पनि मुगम कामारोङ्ग गाउँपालिकामा रहेका कोइकी हिमाल, छायाँनाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर, त्यहाँको लामा समुदायको रितिरिवाज, चाल चलन, सांस्कृतिक लगायत अन्य पर्यटक स्थलहरुमा अवलोकन गर्थे ।

त्योसँगै जङ्गली जनावर, बन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउने पर्यटकहरु बास बस्न माग्री गाउँको होमस्टे पुग्थे । तर अहिले लाखौ मुल्यका सामुदायिक होमस्टेहरु बन्द भई व्यवसाय पनि चौपटमा परेको सामुदायिक होमस्टे सञ्चालक पेमाकुन्साङ्ग तामाङले बताइन् ।

कोरोनाले खायो होमस्टे

विशेषगरी विश्व महामारीका रुपमा फैलिएको कोरोना रोक्न लकडाउन तथा निषेधाज्ञा भएपछि पूर्ण रुपमा होमस्टे बन्द भएका छन् । होमस्टेको लाखौ लगानी खेर गएको छ । साहुको ऋण गरेर हेमस्टे सञ्चालन गरेकालाई ऋण तिर्न समस्या भएको सञ्चालक तामाङले बताइन्  ।

उनले भनिन, ‘सावाँ त कहिले तिर्ने हो निश्चित छैन । कमाई पनि भएन । राज्यले पनि हामीलाई कुनै सेवा सुविधा नदिएको हुनाले सामुदाय हेमस्टे सञ्चालन गर्न गाह्रो भएको छ ।’ उनका अनुसार होमस्टेमा बास बस्न आउनेलाई आरामदायी बाससँगै  स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाइएका ढिडो, रोटी, भात खुवाइन्छ । स्थानीय सांस्कृतिक रीतिरिवाजको प्रदशर्नीसमेत देखाउनुपर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पतिको अवलोकनसमेत गराउँदै आएका छन् ।- खड्क सुनार/न्युज कारखाना