स्वास्थ्य

देशभर थपिए १०९५ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार ८१७ जनामा कोरोना परीक्षण गर्दै एक हजार ९५ जनामा संक्रमण पाइएको हो । हाल नेपालमा संक्रमण दर १९.२ प्रतिशत रहेको छ । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित २२ हजार ३२३ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् ।

पछिल्लो २४ घन्टामा दुई हजार ९५७ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुने कूल संख्या सात लाख ५२ हजार १७० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९५.८ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४८ जनाको निधन भइसकेको छ ।  नेपालमा प्रति दश लाखमा ३७२.४ जनाको संक्रमणका कारण मृत्यु हुनेगरेको तथ्यांकले देखाएको छ । हाल देशभर ३७१ जना सघन उपचार कक्ष (आइसीयू), १०८ जना भेन्टिलेटर, २०  हजार ८९१ जना होम आइसोलेसन, एक हजार ४३२ जना संस्थागत आइसोलेसन र २६४ जना क्वारेन्टिनमा रहेका छन् ।-न्युज कारखाना