शिक्षा

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।

कोविड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ । बैठकका अध्यक्ष शाक्यले भने, ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ । अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नु हुन्न । विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोविड १९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ । यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ ।’ प्रमुख शाक्यले न्युनतम मापदण्डको कुरा गर्दै भने, ‘कक्षा सञ्चालन गर्नु अघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्छ । त्यसपछि मात्र विद्यालय सञ्चालन गर्न सकिनेछ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकोले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । बैठकमा कार्यपालिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरु, सामुदायिक विद्यालय विद्यालयका प्रधानाध्यापकसहित शिक्षा समितिका पदाधिकारीहरु सहभागी थिए ।

विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । यसमा भौतिक दुरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामुहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा कार्यान्वय योजना हुनुपर्नेछ । बैठकमा शिक्षा अधिकृत मोती भट्टराईले मापदण्ड पेश गरेका थिए ।

कोविड –१९ को संक्रमणका कारण उत्पन्न वर्तमान परिस्थितिमा विद्यालय सञ्चालन गर्दा पालना गर्नु पर्ने न्यूनतम मापदण्डहरु

१. विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने ।
२. विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने ।
३. विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौँ महानगरपालिकाको जन स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।
४. विद्यालय सञ्चालन पूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
५. विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
६. विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।
७. विद्यालयको गेटमा नै थर्मल गन राखेर प्रत्येक दिन विद्यार्थी र कर्मचारीको ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।
८. विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।
९. सबै जनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।
१०. खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयम्ले घरबाट नै गर्न सूचित गर्ने ।
११. कक्षा कोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुने गरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।
१२. प्रत्येक दिन कक्षा शुरु गर्नुपूर्व र कक्षा संचालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरु अनिवार्य रुपमा सेनिटाइज गर्ने ब्यवस्था मिलाउने ।
१३. स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गराउने ।
१४. विद्यालयहरुले बालबालिकाहरुलाई हरेक दिन कक्षा संचालन पूर्व १०र१५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।
१५. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमितरुपमा अनुगमन र समन्वय गर्ने ब्यवस्था मिलाउने ।
१६. विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुट्टै आइसोलेसन कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाउने ।
१७. विद्यालयमा सामूहिक कार्यक्रम ÷सामूहिक प्रार्थना आदि नगराउने ।
१८. विद्यालयमा खाजा समयमा भीडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।
१९. विद्यार्थीलाई आफ्ना पाठ््यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आपूmले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।
२०. अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने ब्यवस्था मिलाउने ।
२१. विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोविड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
२२. विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने ।
२३. सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन थालेर गरेर क्रमशः तल्ला कक्षाहरु सञ्चालन गर्ने ब्यवस्था मिलाउने ।
२४. सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउदै लैजाने ।
२५. सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा संचालन नहुञ्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।
२६. अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।
२७. काठमाडौं महानगरपालिका, शिक्षा विभाग मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।