धर्म/संस्कृति

४ महिनामा पञ्चकुमारी मन्दिर पुननिर्माण सम्पन्न : लागत करीव ५५ लाख रुपैयाँ

काठमाडौँ । ४ महिनामा पञ्चकुमारी मन्दिर पुननिर्माण सम्पन्न भएको छ । काठमाडौँ महानगरको वडा ३१ पञ्चकुमारी मार्गमा रहेको मन्दिर संघीय संसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रकाशमान सिंहबाट प्राप्त करीब १२ लाख रुपैयाँ, काठमाडौँ महानगरपालिकाको ३० लाख रुपैयाँ र स्थानीय तथा दाताहरुबाट प्राप्त करीव १३ लाख रुपैयाँबाट मन्दिर पुननिर्माण गरिएको हो । पूजाआजा गरेर आजबाट मन्दिर खुल्ला गरिएको हो ।

मन्दिर उद्घाटनपछि बोल्दै संसद सदस्य सिंहले, जनसरोकारका विषय राजनीतिभन्दा माथि हुने उल्लेख गरे । विकासका मुद्दा साझा हुन् । यसबाट सबैलाई लाभ हुन्छ । यस्ता विषयलाई राजनीति रङ्ग दिएर अपवित्र बनाउन हुँदैन । सिंहको भनाइ थियो । त्यस क्रममा प्रदेश सभा सदस्यहरु दीपेन्द्र श्रेष्ठ, गणेश दुलाल र राजेन्द्र गुरुङ्ले, सम्पदाको भौतिक अवस्था सुधार गर्दा सुन्दरता र सामाजिक सद्भाव सँगै बढ्ने विचार राखे । विकासलाई समाजका विभिन्न पक्षसँग जोडेर हेर्न सके दिगो उपयोग हुनेमा उनिहरुको साझा मत थियो ।

काठमाडौँ महानगरपालिकाले नीतिगत निर्णय र बजेटको प्रबन्ध गरेर सम्पदालाई जीवन दिइरहेको छ । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पञ्चकुमारी मन्दिर यसैको उदाहरण भएको उल्लेख गरे । पञ्चकुमारी विकास समितिका अध्यक्ष शम्भु के. सी. काअनुसार खरिको बोटमुनि रहेकी देवीको आराधना गरेपछि मनोकांक्षा पूरा हुने विश्वाश छ । यो परम्परादेखि चलिआएको विश्वाश हो । कार्यक्रममा जेष्ठ नागरिक र दाताहरुलाई सम्मान गरिएको थियो ।