स्वास्थ्य

बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरको ४ करोड आर्थिक सहयोग

काठमाडौँ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगर बाहिरबाट उपचारका लागि काठमाडौँ धाउँदा विरामीले भोग्नुपर्ने दुःख र परिवारले झेल्नु पर्ने आर्थिक बोझ कम गराउन काठमाडौँ बाहिर विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले हामीले बुढानिलकण्ठमा निर्माण हुने अस्पताललाई सहयोग गर्ने भएका हौँ । सहयोग सम्बन्धी सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ । संघीय राजधानी भएकोले हामीले आवश्यकता र मागका आधार प्रशस्तै लगानी गरेका छौँ । थप लगानीका लागि हामी तयार छौँ ।’

‘बाल रोग विशेषज्ञहरु मिलेर बालबालिकाको उपचारका लागि पूर्वाधार तयार गर्दैछन् । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’ प्रमुख शाक्यले सहयोगको सन्दर्भपछि कोविड र डेङ्गुलगायत महामारी नियन्त्रण गर्न सरकारी र सामुदायिक अस्पताललाई प्राविधिक क्षमता बढाउन सहयोग गरेको विगत अभ्यासमा चर्चा गरेका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाले नेपालको विद्यमान स्वास्थ्य सेवाले गरिरहेको योगदानलाई थप व्यवस्थित गरेर सबै प्रकारका बाल रोग उपचार व्यवस्थाको अभियाननमा लागेको बताए ।

‘बालरोगविज्ञहरुलाई एउटै छानामुनि राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ । यो अभियान हरेक प्रदेशमा विस्तार हुनेछ ।’ डा. कोइरालाले भने ‘काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौँमा हाम्रो सपना पूरा हुने भएको छ । हामी काठमाडौँमा २ सय बेडको अस्पताल निर्माण गर्नेछौँ ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थकातर्फबाट अध्यक्ष डा. कोइरालाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।